अन्तर्राष्ट्रिय पदक विजेतालाई १ करोड १ लाख ४० हजार नगद पुरस्कार
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले ३ खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई नगद पुरस्कार प्रदान गर्नु भएको छ ।
राखेपको सिफारिस र युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नेपालमा भएको साफ महिला फुटबल च्याम्पियनसिप, चीनमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पियनसिप र भुटानमा भएको काभा बिच भलिबल प्रतियोगिताका पदक विजेतासहितको टोलीलाई नेपाल सरकारले कुल १ करोड १ लाख ४० हजार नगदबाट पुरस्कृत गरेको हो ।
साफ महिला फुटबल च्याम्पियनसिपको रजत विजेता २३ खेलाडीसहित २८ सदस्यीय टोलीलाई ७४ लाख ६० हजार रुपैयाँ, २० औं एसियाली सिनियर कराते च्याम्पियनसिपका पदक विजेता समान १–१ खेलाडी र प्रशिक्षकलाई ७ लाख ८० हजार तथा काभा बिच भलिबल प्रतियोगिताका पदक विजेता ४ खेलाडी र १ प्रशिक्षक गरी ५ जनालाई १९ लाख नगद पुरस्कार प्रदान गरिएको थियो ।
सो अवसरमा माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज आर्यलगायतको उपस्थिति रहेको थियो ।
फेसबुक प्रतिक्रिया