उपाधीका लागि सेना र पुलिस भिड्ने
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ३४ औं राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधीका लागि विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बिहीबार पहिलो खेल ओसिलो मैदानका कारण टस नै नभई रद्द हुँदा आर्मी समूह विजेताको रुपमा फाइनल पुगेको हो । अर्को टोली पुलिसले एनआरएनएलाई १३ रनले हराउँदै आर्मीसँगको भेट पक्का गरेको हो ।
वर्षाका कारण मैदान ओसिलो भएका कारण खेल नभएपछि समूह चरणमा हासिल गरेको उत्कृष्ट नतिजाका आधारमा आर्मी फाइनलमा स्थान बनाउन सफल भएको हो ।
यता समूह चरणको खेलमा आर्मीसँग पराजित भएको पुलिसको फाइनल भेट पुनः आर्मीसँग नै भएको छ । ओशिलो मैदानमा ८ ओभरमा घटाएर खेलाईएको खेलमा पुलिसले दिएको १ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा एनआरएनएले ८ ओभरमा ३ विकेट गुमाएर मात्र ९७ रन जोड्न सक्यो । एनआरएनएका लागि कप्तान सुनम गौतमले विस्फोटक ब्याटिङ गरे । गौतमले २५ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै सर्वाधिक ४६ रनको पारी खेले पनि उक्त रन जितका लागि पर्याप्त भएन । ओपनर सागर पुनले २० बलमा ३७ रनको व्यक्तिगत योगदान गरे । अर्का ओपनर दिनेश खरेल ४ रन र पृथु बास्कोटा १ रनमा अविजित रहे । पुलिसका योगेन्द्र सिंह कार्कीले २ विकेट हात पार्दा पवन सराफको नाममा एक विकेट रह्यो ।
यस अघि टस जितेर ब्याटिङ गरेको पुलिसले ८ ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । पुलिसका लागि म्यान अफ दि म्याच आरिफ शेखले १५ बलमा व्यक्तिगत ३६ रनको स्कोर गरे । कप्तान दिपेन्द्र सिंह ऐरीले १२ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रनको पारी खेले । यस्तै करण केसीले २ छक्का सहित १८ रन बटुल्दा ओपनर कुशल भुर्तेल १२ रनमा पवेलियन फर्किए । गुल्सन झा ७ रनमा र सुनिल धमला ६ तथा रासिद खान ३ रनमा रन आउट हुन पुगे । बलिङ तर्फ एनआरएनएका दिवस गिरिले सर्वाधिक २ विकेट निकाल्दा दिपक क्षेत्री, सुनम गौतम र दिनेश खरेलले एक÷एक विकेट हात पारे ।
उपाधीका लागि दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबविच प्रतिस्पर्धा हुनेछ । यस्तै दिनको ४ बजे पुरस्कार वितरण हुने कार्यक्रम रहेको छ । सुदुरपश्चिम प्रदेश र एनआरएनए स्पोर्ट्स एकेडेमीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
फेसबुक प्रतिक्रिया