एपिएफ र पुलिसको विजयी सुरुवात
सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबले सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ मा महिला तर्फ विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको दोश्रो दिन सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाल आर्मीलाई २५–९, २५–१७ र २५–१८ को सोझो सेटमा पराजित गर्दै जितलाई आत्मसात ग¥यो । यसका साथै एपिएफको खातामा तीन अंक जोडिएको छ ।
लिगको आधारमा खेलाईएको प्रतियोगिताको दोश्रो खेलमा नेपाल पुलिस क्लबले भारतको उत्तर प्रदेश भलिबल संघलाई २५–७, २५–२० र २५–१६ अंकका साथ सहजै ३–०को सोझो सेटमा पराजित गर्न सफल भएको छ । नेपाल पुलिसले पनि आफ्नो खातामा तीन अंक जोड्न सफल भयो ।
यस अघि पूर्व मन्त्री किरण गुरुङ्गले रेफ्रि विकास गुरुङ्गलाई बल हस्तान्तरण गर्दै खेलको सुरुवात गरेका थिए ।
करिब ३५ लाख लागतको प्रतियोगितामा नेपालका पाँच र भारतको एक गरि महिला तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगितालाई भब्य रुपमा सफल पार्न कुनै कसर बाँकी नराख्ने कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङ्गले जनाएका छन् ।
भोलीको पहिलो खेल महिला तर्फ पश्चिमाञ्चल र एपिएफ विच ९ः३० बजे तथा नेपाल पुलिस र न्यू डायमन्ड एकेडेमी विच १ः३० बजे हुनेछ भने पुरुष तर्फको खेल हेल्प नेपाल स्पोर्टस् क्लब र एपिएफ ११ ः ३० बजे तथा नेपाल पुलिस र पश्चिमाञ्चलविच ३ः३० बजे हुने प्रतियोगिता संयोजक डि.बी. नेपालीले जनाएकका छन् ।
फेसबुक प्रतिक्रिया