एम्पुटी फुटबलमा पिस युनाइटेड च्याम्पियन

पिस युनाइटेडले पारा राष्ट्रिय खेलकुदअन्तर्गत एम्पुटी राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा पिसले एक्स आर्मीलाई २–१ गोलले पराजित ग¥यो । पिसका सुजन कार्की र सुदीप चापागाईंले गोल गरे । आर्मीका राजु श्रेष्ठले सान्त्वना गोल फर्काए ।


एम्पुटी खेलकुद समाजको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा पिसका सुदीप उत्कृष्ट खेलाडी चुनिए । उनले प्रतियोगिता अवधिभर ५ गोल गरे । ब्लायक हक तेश्रो भयो ।

बहिरा बुद्धिचालमा उत्तम र आश्था विजेता ः

पारा राष्ट्रिय खेलकुदअन्तर्गत बहिरा बुद्धिचाल प्रतियोगिताको पुरुषमा उत्तम महर्जन र महिलामा आश्था राई शनिबार विजेता बने । पाँच चरणमा भएको खेलमा उत्तम र आश्थाले ५–५ अंक जोडे ।
राष्ट्रिय बहिरा खेलकुद कमिटीको तत्वावधानमा त्रिपुरेश्वरस्थित आयोजक राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा झमकप्रसाद गौतम दोश्रो तथा श्याम तामाङ तेश्रो भए । महिलामा नेहा श्रेष्ठ दोश्रो तथा सुनिता नेपाल तेश्रो स्थानमा रहे । पुरुषमा १३ र महिलामा १२ खेलाडी सहभागी थिए ।

नेत्रहीन क्रिकेट उपाधि बाग्मतीलाई ः

पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पुरुष नेत्रहीन क्रिकेटको उपाधि बाग्मती प्रदेशले शनिबार जितेको छ । दुई खेलको टी– २० शृंखला बाग्मतीले २–० ले जितेको हो ।
दोश्रो खेलमा बाग्मतीले मधेश प्रदेशलाई २ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १५२ रन बनाएको थियो । सागर चेपाङले ३१ रन जोडे ।
प्रत्युत्तरमा बाग्मतीले १९.४ ओभरमा ८ विकेट क्षतिमा लक्ष्य भेटायो । शान्त पहरीले ३८ रन बनाए । राष्ट्रिय नेत्रहीन क्रिकेट संघको तत्वावधानमा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा शान्त ‘म्यान अफ द सिरिज’ घोषित भए । सिरिजमा शान्तले ६९ रन बनाउनुका साथै ४ विकेट पनि लिए । पहिलो खेलमा बाग्मतीले मधेशलाई ७ विकेटले हराएको थियो ।

व्हीलचेयर बास्केटबलमा गण्डकी र बाग्मती अब्बल ः

पारा राष्ट्रिय खेलकुदअन्तर्गत व्हीलचेयर बास्केटबलको पुरुषमा गण्डकी प्रदेश र महिलामा बाग्मती प्रदेशले शनिबार उपाधि हात पारेका छन् ।
नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको तत्वावधानमा राखेपद्वारा आयोजित प्रतियोगिताअन्तर्गत ५ टिम सहभागी पुरुषको राउन्ड रोविन लिगमा गण्डकीले सर्वाधिक ६५ अंक जोड्यो । ४६ अंकसाथ कर्णाली प्रदेश दोश्रो तथा ४४ अंकमा सुदूरपश्चिम प्रदेश तेश्रो भए । अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलमा भएको प्रतियोगिताको महिलामा लुम्बिनी दोश्रो भयो ।
विभिन्न १२ खेल समावेश पारा राष्ट्रिय खेलकुदमा ५ खेलको प्रतियोगिता सम्पन्न भइसकेको छ । यसअघि दृष्टिविहीन गोलबल सम्पन्न भएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373