कर्णालीको जित
काठमाण्डौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष टी २० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा कर्णालीले मधेश प्रदेशलाई ३ रनले हराएको हो ।
कर्णालीले दिएको १ सय १५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्गमा उत्रिएको मधेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रनमात्र बनाउन सक्यो । उसका लागि हरिशंकर शाहले ४८ रनको सर्वाधिक पारी खेल्दा राकेश कामतले नटआउट १९ रन बनाए । यस्तै रोहन विकले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले मधेशका लागि दोहोरो अंक्मा रन बनाउन सकेनन् ।
कर्णालीका लागि बलिङ्गमा दिनेश अधिकारीले ३ तथा दिवान पुन र रविन्द्रजंग शाहीले २–२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको कर्णाली प्रदेशले २० ओभरमा अलआउट हुँदै १ सय १४ रनको योगफल तयार पारेको थियो । उसका लागि विपिन रावलले २४ तथा प्रकाश जैशीले १९ रन बनाए ।
बलिङ्गमा मधेशका आदिल आलमले ५ तथा हरिशंकर शाहले २ विकेट लिए ।
जितसँगै कर्णालीले ४ खेलमा ५ अंक जोडुदै समूह ‘ए’ को दोश्रो स्थानमा उक्लिएको छ । यस्तै हारको सामना गरेको मधेश प्रतियोगिताबाट बाहिरिएको छ ।
उता मुलपानीमा तय भएको खेलहरु आज पनि हुन सकेन । आजको लागि तय भएको पुलिस क्लब र गण्डकी प्रदेशबिचको खेल हिलाम्य मैदानका कारण टस समेत नभई स्थगित हुन पुगेको थियो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ ।
फेसबुक प्रतिक्रिया