कार्यदलले प्रतिवेदन बुझायो
काठमाडौं, मंसिर ५ गते ।
नेपालले सहभागिता जनाउदै आएको औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता र एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई प्रोत्साहन रकम, विमा, स्वास्थ्य र यातायातमा कसरी सुविधा उपलब्ध गराउन सकिन्छ भनी सुझाव संकलन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित खेलाडी सुविधा सुझाव कार्यदलले आइतबार प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक राखेप सदस्य उपेन्द्र पौडेलले राखेप सदस्य–सचिव केशवकुमार विष्टलाई प्रारम्भिक प्रतिवेदन बुझाएका हुन् । पौडेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल भदौ २२ गते गठन गरिएको थियो ।
कार्यदलले सागका स्वर्णधारी र एसियाली पदकधारीलाई जनही मासिक ५ हजारका दरले एक वर्षको एक मुष्ट ६० हजार रुपैयाँ सम्बन्धितलाई प्रदान गर्न सिफारिस गरेको छ । विदेशमा रहेका खेलाडीलाई भने हाल परिषद्लाई प्राप्त भएको रकम अपुग हुने भएकोले नेपाल सरकार समक्ष मार्ग गर्न सिफारिस गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा सो प्रयोजन वापत परिषद्लाई ९१ लाख ८० हजार रुपैयाँ प्राप्त भइसकेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा जानकारी दिइएको थियो ।
एसियाली पदक विजेता तथा साग स्वर्णधारी खेलाडीको मृत्य भएमा स्व. खेलाडीको पत्नी वा नजिकको परिवारलाई ३ वर्षको एकमुष्ट खेलाडी प्रोत्साहन स्वरुपको रकम क्रिया खर्च वापत उपलब्ध गराउन तथा एसिायलीमा कांस्य र सागमा स्वर्ण जितेका स्व. दलबहादुर राना र सागका स्वर्णधारी स्व. पुष्करध्वज शाहीको मृत्यु भइसकेकोले नेपाल सरकारले परिषद् मार्फत उपलब्ध गराउदै आएको खेलाडी प्रोत्साहनको रकमबाट पत्नी वा परिवारलाई ३ वर्षको एकमुष्ट रकम उपलब्ध गराउन समेत सिफारिस गरेको छ ।
त्यस्तै सागमा एक भन्दा बढी स्वर्ण जित्ने र एसियालीमा एक भन्दा बढी पदक जित्ने खेलाडीलाई प्रत्येक पदकको मासिक ५ हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराउन उपयुक्त हुने कार्यदलले सुझाव पेश गरेको गरेको छ ।
प्रतिवेदन बुझेपछि सदस्य–सचिव विष्टले विदेशमा रहेका र मृत्यु भएका खेलाडीलाई के गर्ने भन्ने विषयमा कार्यविधि बनाएर अगाडि बढ्न उपयुक्त हुने बताउदै प्रोत्साहन रकम पछि कति समयको अन्तरालमा दिने भन्नेमा पनि प्रतिवेदनमा उल्लेख गर्न सुझाए । सदस्य–सचिव विष्टले खेलाडीको विमा, स्वास्थ्य र यातायातमा खेलाडीलाई कसरी सुविधा दिन सकिन्छ भन्नेमा सरोकार निकायसंग छलफल गरी सम्भाव्यता अध्ययन गर्न समेत बताउदै त्यसका लागि केहि समय आवश्याक परे थप्न तयार रहेको बताए ।
प्रतिवेदनका अनुसार सागको १२ औं संस्करण समाप्तिसम्म व्यक्तिगत र टिम स्पर्धामा गरी स्वर्णधारी खेलाडीको संख्या १ सय ३३ रहेको छ । त्यसमध्ये २९ जना विदेशमा छन् भने २ खेलाडीको मृत्य भएको छ । त्यसैगरी, एसियाली खेलकुदमा २३ खेलाडी (एक रजत र २२ कांस्य) ले पदक जितेका छन् । ११ खेलाडी विदेशमा छन् भने २ खेलाडीको मृत्यु भइसकेको छ । सम्पर्क बाहिर रहेका खेलाडीको संख्या २ रहेको छ ।
फेसबुक प्रतिक्रिया