क्याडेट र जुनियर जुडो टोली भारत जाने
काठमाडौं, भदौ १७ गते ।
दसौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १९ सदस्यीय नेपाली जुडो टोली शनिबार भारतको केरलास्थित कोची प्रस्थान गर्दैछ ।
क्याडेटको पुरुष ५० केजीमुनि लक्ष्मण जिसी, ५५ केजीमुनि रोशनबहादुर दोङ र ६० केजीमुनि सन्जोग भट्ट तथा महिला ४८ केजीमुनि शारदाकुमारी खत्री र ५२ केजीमुनि मनीता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्नेछन् ।
जुनियर पुरुषतर्फ ५५ केजीमुनि किरण गदेल, ६० केजीमुनि सुदेश दोङ र ६६ केजीमुनि रामभक्त तामाङ तथा महिला ६३ केजीमुनि फुपुलल्हामु खत्री, ७० केजीमुनि पुनम श्रेष्ठ, ५२ केजीमुनि अन्जु पाण्डे र ४८ केजीमुनि मनीष महर्जन पुटुवारले भाग लिने छन् ।
प्रशिक्षकमा रमेश मगर र देविका खड्का तथा व्यवस्थापकमा धर्मरत्न पाछै र गायत्री बस्नेत छन् । त्यस्तै आईजेएफ अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा सहभागी हुन जुडो मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित तथा आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षामा सहभागी हुन पृथ्वी आलोक र मोहन सुनुवार पनि टोलीसंग जाँदैछन् ।
जेयुए कोचिङ डाइरेक्टरका हैसियतले प्रतियोगता सञ्चालन गर्न नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य भने सेप्टेम्बर ५ तारिखमा केरला जानेछन् । प्रतियोगिता सेप्टेम्बर ४ देखि ११ तारिखसम्म सञ्चालन हुनेछ ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सातदोबाटोस्थित एनओसी मुख्यालयमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।
फेसबुक प्रतिक्रिया