त्युनिसियाकाे समिनारमा ३ नेपाली
त्युनिसियामा हुने तेक्वान्दोको अन्तर्राष्ट्रिय ग्योरोगी, पुम्से तथा पारा रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्समा नेपालबाट ३ जना सहभागी हुने भएका छन् ।
मार्च १८ देखि २८ तारिखसम्म हुने उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, नन्द विष्ट र तिलक लामाले सहभागिता जनाउने छन् । अशोकले ग्योरोगीको रिफ्रेसर कोर्स तथा पारा सेमिनारमा सहभागिता जनाउने छन् । नन्द र तिलक दुवैले ग्योरोगी सेमिनारमा भाग लिने छन् । उनीहरु बुधबार त्युनिसिया जाँदै छन् ।
अशोकलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र महासचिव दीपराज गुरुङले मंगलबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे । तिलक लालबन्दी तथा नन्द बाग्लुङबाट मंगलबार साँझ काठमाडौं आइपुग्ने बताइएको छ ।
उक्त कार्यक्रमपछि अशोक भने जर्मनको ह्याम्बर्ग जाने छन् । मार्च २९ देखि ३१ तारिखसम्म हुने जर्मन ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक ह्याम्बर्ग जान लागेका हुन् ।
फेसबुक प्रतिक्रिया