पुरुष भलिबल : विभागीय टिमलाई सफलता
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको तीनवटै खेलमा विभागीय टिमले जित हात पारेका छन् । शनिबार पोखरा रंगशाला भलिबल कोर्टमा लिग चरणको खेलमा एपीएफ, त्रिभुवन आर्मी र पुलिस क्लब विजयी भएका हुन् ।
पहिलो खेलमा एपीएफले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट प्रतिस्पर्धात्मक खेलेको एनआरएनएलाई एपीएफले २५–१९ मा समेट्यो । दोस्रो २५–१५ र तेस्रो २५–१३ मा विजय हासिल गर्दै समूह ‘सी’ मा पहिलो जित दर्ता गरायो । जितसँगै एपीएफले ३ अंक जोड्यो ।
शनिबारको दोस्रो खेलमा त्रिभुवन आर्मीले प्रदेश १ लाई ३–० कै सेटमा पराजित ग¥यो । आर्मीले २५–१२, २५–१९ र २५–२३ ले प्रदेश एकलाई हराएर समूह ‘बी’ मा पहिलो जित दर्ता गर्दै ३ अंक जोड्यो ।
समूह ‘ए’ मा पुलिसले लुम्बिनी प्रदेशलाई हराउँदै शीर्ष स्थान कायम राखेको छ । शनिबार लुम्बिनीलाई २५–१२, २५–८ र २५–२१ को सेटमा पराजित गर्दै पुलिसले थप ३ अंक जोडेको हो । यसअघि शुक्रबार कर्णालीलाई ३–० को सेटमा हराएर पुलिसले ३ अंक जोडेको थियो । पुलिस ६ अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ ।
आइतबारको पहिलो खेल त्रिभुवन आर्मी र मधेश प्रदेश, दोस्रो खेल एपीएफ र सुदूरपश्चिम, तेस्रो खेल कर्णाली र लुम्बिनी प्रदेशबीच हुने छ । पुरुष भलिबलमा चार समूहमा ११ टिम सहभागी छन् । हरेक समूहका दुई विजेता क्वाटरफाइनल चरणमा प्रवेश गर्ने छन् । समूह ‘डी’ मा गण्डकी र वाग्मती मात्रै रहेकाले सिधैं क्वाटरफाइनल प्रवेश गरिसकेका छन् । शुक्रबार वाग्मतीलाई हराएर गण्डकी समूह विजेता बनेको थियो ।
फेसबुक प्रतिक्रिया