पूर्वाञ्चल र पश्चिमाञ्चलको सफल सुरुआत

पूर्वाञ्चल र पश्चिमाञ्चलले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेका छन् । इटहरीस्थित डिभिएम स्कुलमा भएको प्रतिस्पर्धामा पूर्वाञ्चलले मध्यमाञ्चललाई र पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई पराजित गरे ।
राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा पूर्वाञ्चलले टस जितेर पहिला व्याटिङ् गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १२४ रन बनायो । पूर्वाञ्चलका अपसरी वेगमले ४६ र रोमा थापाले ४२ रन बनाए ।
मध्यमाञ्चलकी आरती बिडारीले २ विकेट लिइन् । जवाफी ब्याटिङ्मा मध्यमाञ्चल १३ ओभरमा ४७ रनमा सीमित हुन पुग्यो । मध्यमाञ्चलका लागि कुनै पनि ब्याट्सवोमनले दोहोरो अंक बनाउन सकेनन् । पूर्वाञ्चलका लागि कप्तान रुविना क्षेत्रीले ३ र संगीता राईले २ विकेट चट्काए । वोमन अफ दी म्याच पूर्वाञ्चलकी रोमा थापा भइन् ।
अर्को खेलमा पश्चिमाञ्चलले मध्य पश्चिमाञ्चललाई ४ विकेटले हरायो । पहिला ब्याटिङ् गरेको मध्य पश्चिमाञ्चलले १६ ओभरमा पूरै विकेट गुमाएर ६४ रन मात्र बनाउन सफल भयो । मध्य पश्चिमाञ्चलका लागि रविना ज्ञवालीले १२ रन जोडिन् ।
पश्चिमाञ्चलका लागि सीमा थापा मगर तथा सविता जिसीले २÷२ विकेट लिएका थिए । प्रत्युतरमा पश्चिमाञ्चलले १७ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटाएको थियो । वोमन अफ दी म्याच बनेकी पश्चिमाञ्चलकी नितु भण्डारीले २९ रन र बर्षा रानाले १४ रन बनाए । खेलको उद्घाटन एमालेका सचिव एवं पूर्व मन्त्री भीम आचार्यले गरे ।
प्रतियोगितामा पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदू्रपश्चिमाञ्चल र विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लब गरी ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
विजेताले एक लाख रुपैयाँ र उपबिजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई दस हजार, बेस्ट ब्याट्सवोमन र बलरलाई पाँच–पाँच हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल फागुन २५ गते हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309