पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिबालय उद्घाटन
पोखरा ५, भदौं
पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा रिवन काटेर आज (आइतबार) सचिवालयको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री गहतराजले नवौं खेलकुदको सम्पूर्ण तयारी सहित कार्तिक पहिलो हप्तासम्म सचिबालय संचालन हुने बताए । कर्मचारी र खेलकुदकर्मीले आवश्यक समन्वय गरी नवौं राष्ट्रिय खेलकुद सफल पार्न एक जुट हुन मन्त्री गहतराजले आग्रह गरे । उक्त प्रतियोगिता जहाँ खेल हुन्छ त्यहीको निकायलाई समेत अपनत्व बहन गराउन पनि तीन तहका जिम्मेवारी व्यक्तिबाट उक्त सचिबालय उद्घाटन गरिएको मन्त्री गहतराजको भनाई थियो । ३९ वर्ष पछि गण्डकी प्रदेशमा आउदो असोज २८ देखि कार्तिक ३ गतेसम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुदलाई सफल पार्न प्रदेश सरकार तयार रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बताए । खेलाडी एवं प्रशिक्षकहरुलाई उच्च मनोवलका साथ आफ्नो तयारीमा लाग्न उहाँको आग्रह थियो । पोखराका मेयर धनराज आचार्यले स्थानिय तहलाई संघिय सरकारले सहकार्य गरेकोले आफ्नो क्षेत्रमा हुने उक्त इभेन्टलाई सफल पार्न आफुहरु कटिवद्ध भएको बताए । प्रदेशको राजधानी पोखरा केन्द्रित हुने उक्त प्रतियोगिताका विभिन्न खेल मैदानको हकमा करिब तयारी अबस्थामा रहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले बताए ।
फेसबुक प्रतिक्रिया