प्रधानमन्त्री कप विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुद सुरु, नीर र जीवनको जोडी फाइनलमा
नीरविक्रम देवकोटा र जीवन आचार्यको जोडी प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष डबल्सतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन् । त्रिभूवन विश्वविद्यालय (टीयू) का उक्त जोडीले पहिलो सेमिफाइनलमा पूर्वाञ्चल विश्वविद्यालयका लोचनराज न्यौपाने र डेनी खत्रीको जोडीलाई २१–३ र २१–११ को सोझो सेटमा पराजित गरे ।
महिला डबल्समा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका गंगा विष्ट र हेमा जोशीको जोडीले पूर्वाञ्चल विश्वविद्यालयका अन्जु सुवेदी र नीता पोखरेलको जोडीलाई २१–१५ र २१–५ को सीधा सेटमा हराउदै फाइनलमा स्थान पक्का गरे ।
पुरुष सिंगल्समा नीरविक्रम, जीवनसहित काठमाडौंका विश्वविद्यालय (केयू) का रिकेश श्रेष्ठ र भूपेन्द्र गिरी सेमिफाइनलमा पुगे । सोही स्पर्धाको महिलामा गंगालगायत कृषि तथा वन विज्ञान विश्वविद्यालयकी अस्मिता सुवेदी र सोनिया गुरुङ तथा केयुकी ज्ञानु गिरीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
भलिबल ः
राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा टीयू र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विजयी सुरुआत गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा टीयूले सुदूरपश्चिमाञ्चललाई २६–२४, २५–१३, १८–२५, १९–२५ र १८–१६ को सेटमा पराजित ग¥यो । मध्यपश्चिमाञ्चलले केयूलाई २५–२३, २५–१९ र २५–२३ को सोझो सेटमा हरायो ।
बास्केटबल ः
पुरुष बास्केटबलमा केयू र टीयूले सफलता हात पारे । त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहलमा केयूले कृषिलाई ७०–२५ तथा टीयूले पूर्वाञ्चललाई ५०–३५ ले निराश पारे ।
टेबलटेनिस ः
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको टेबलटेनिसको पुरुष सिंगल्समा केयूका अविन प्रजापति, कृषिका अनिश शाक्य, पूर्वाञ्चलका प्रवेश न्यौपाने तथा केयूका सुजन पन्तले सेमिफाइनल यात्रा तय गरे । उक्त स्पर्धाको महिलामा केयूकी दिपिका श्रेष्ठ, सुदूरपश्चिमाञ्चलकी देवकी भट्ट, केयूकी रेज्शा कोटेजा तथा कृषिकी निशा श्रेष्ठ सेमिफाइनलमा पुगे ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा, राखेप सदस्य एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक गंगाबहादुर थापा, राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख एवं समितिका सचिव प्रकाशचन्द्र घिमिरेले विश्वविद्यालय खेलकुद प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए । तीनदिने प्रतियोगितामा विभिन्न ५ खेलमा विभिन्न ८ विश्वविद्यालयका २ सय ७ खेलाडी सहभागी छन् ।
फेसबुक प्रतिक्रिया