बंगलादेशी ग्रान्डमास्टर अब्दुल्लाह रकिब बने ३.२ जोनल चेस च्याम्पियन, महिलातर्फ ७३ वर्षीय रानी हमिद च्याम्पियन

बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह फिडेको ३.२ जोन चेस च्याम्पियन बनेका छन् । २४९२ रेटेड रकिब सोमबार काठमाडौंमा सम्पन्न एसियन जोनल ३.२ चेस च्याम्पियनशीपको अन्तिम चरणमा आफ्नै देशका ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई पराजीत गर्दै सेप्टेम्बरमा जर्जीयामा हुने वल्र्ड कप चेस च्याम्पियनशीपका लागि समेत छनौट भएका छन् । ९ खेलबाट ८ अंक बनाएका रकिबले १५ सय अमेरिकी डलर नगद पुरस्कार समेत प्राप्त गरे ।
त्यसैगरी डिफेन्डिङ च्याम्पियन समिमा अख्तरलाई हेड टु हेडमा पछि रानी हमिद एसियन जोनल ३.२ चेस च्याम्पिनसीपको महिला तर्फको उपाधि हासील गर्न सफल रहिन् । च्याम्पियनसीपको अन्तिम खेलमा नेपालकी मतिना कुसीलाई हराउँदै ८ अंक बनाएकी ७३ वर्षीय वुमन इन्टरनेशनलमास्टर रानीले १ हजार अमेरिकी डलर नगद हात पारीन् । टाईब्रेकमा पछि परेकी वुमन इन्टरनेशनलमास्टर समिमाले नेपालकी सबिना श्रेष्ठलाई हराउँदै ५ सय अमेरिकी डलर प्राप्त गरिन ।
प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन बंगलादेशी ग्रान्डमास्टर जीउर रहमान (२५२०) नेपालका केशव श्रेष्ठ (२०७७) लाई हराउँदै ७ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहे । उनले १ हजार अमेरिकी डलर नगद प्राप्त गरे । त्यसैगरी अन्तिम खेलमा आफ्नै देशका फिडेमास्टर हसन मेहेदी (२२६३) सँग बराबरीमा रोकिएका ग्रान्डमास्टर नियाज मुर्सीद (२४२२) ७ अंकका साथ तेश्रो स्थानमा रहँदै ५ सय अमेरिकी डलर नगद प्राप्त गर्न सफल भए ।
श्रीलंकाली कालुगाम्पिटीया आर एसका लागि च्याम्पियनसीप सुखद रह्यो । २१२९ रेटेड उनले अन्तिम चरणमा नेपालका हिमाल लामा (२०८१) माथि जीत हात पारेका कालु ६ अंकका साथ चौथो स्थानमा रहँदै फिडेमास्टरको उपाधि समेत प्राप्त गर्न सफल भए ।
बंगलादेशका फिडेमास्टरद्धय हसन मेहेदी तथा रहमान साइद मफजुर तथा नेपालका क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थ समान ५ दशमलब ५ अंकका साथ क्रमशः पाचौं, छैटौं र सातौं स्थानमा रहन सफल भए । त्यसैगरी नेपालका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, बंगलादेशका ग्रान्डमास्टर इनामुल हुसेन र फिडेमास्टर मोहम्मद तैवुर रहमान क्रमशः आठौं, नवौं तथा दशौं स्थानमा रहे ।
च्याम्पियनसीपबाट नेपालका हिमाल लामा, नविन तण्डुकार, भगवतीप्रसाद शर्मा, मिलन लामा र राजेन्द्रकुमार पराजुलीले क्यान्डिडेटमास्टरको उपाधि प्राप्त गर्न सफल भए ।
त्यसैगरी महिलातर्फ बंगलादेशी वुमन फिडेमास्टर नजराना खान ६ अंकका साथ तेश्रो स्थानमा रहन सफल भईन । अन्तिम चरणमा नेपालकी शान्ता थापालाई हराउन सफल उनले ३ सय अमेरिकी डलर पुरस्कार हात पारीन् । त्यसैगरी बंगलादेशी सरमीन समिहा सिम्मि तथा वुमन फिडेमास्टर सुल्ताना सरमिन सिरीन समान ५ दशमलब ५ अंकका साथ चौथो तथा पाचौं स्थानमा रहन सफल भए । बंगलादेशी सरमीन समिहा सिम्मि तथा श्रीलंकाली सौम्य जनावले वुमन क्यान्डिडेटमास्टरको उपाधि प्राप्त गरे ।
श्रीलंकाली सौम्य जैनव ५ अंकका साथ छैटौं स्थानमा रहिन । बंगलादेशी वुमन फिडेमास्टर महमुदा हक चौधरी, नेपालका शान्ता थापा तथा सविना श्रेष्ठ क्रमशः सातौं, आठौं र नवौं स्थानमा रहे । नेपालकी मतिना कुसी २ अंकका साथ दशौं स्थानमा रहिन् ।
नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंको होटल एल्लो पगोडामा सम्पन्न च्याम्पियनसीपमा नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्सका ४२ जना खेलाडीको सहभागीता रहेको थियो । कुल ६ हजार ५ सय नगद पुरस्कार राशी रहेको च्याम्पियनशीपका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्ट, एशीयाली चेस महासंघका डेपुटी प्रेसिडेन्ट भरत सिं चौहान, एसियन जोनल ३.२ का अध्यक्ष राजेशहरी जोशी लगायतले पुरस्कार वितरण गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373