मध्यमाञ्चल टिम च्याम्पियन
काठमाडौं, असोज ४ गते ।
मध्यमाञ्चलले प्रथम युथ तथा जुनियर राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको उपाधि सोमबार जितेको छ । ११ स्वर्ण, ५ रजत र ६ कांस्यसाथ मध्यमाञ्चल टिम च्याम्पियन बन्यो ।
नेपाल एथलेटिकस संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र ७ कांस्यसाथ पश्चिमाञ्चल दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाउन बाध्य मध्यपश्चिमाञ्चलले ६ स्वर्ण, ७ रजत र २ कांस्य हात पा¥यो ।
प्रतियोगिताको अन्तिम दिन युथतर्फ महिला ८ सय मिटर दौडमा मध्यमाञ्चलकी सुनीता श्रेष्ठ पहिलो भइन् । सुनीताले निर्धारित दूरी २ मिनेट ४३.१७ सेकेन्डमा पूरा गरिन् ।
पुरुष लङजम्पमा पश्चिमाञ्चलका विकासकुमार साह पहिलो भए । उनले ६.०४ मिटर हामफाले । सोही स्पर्धाको महिलामा पश्चिमाञ्चलकै विपना परियार ५.०६ मिटर हामफाल्दै शीर्ष स्थानमा रहिन् । पुरुष ८ सय मिटर दौडमा पश्चिमाञ्चलका रोहित अधिकारी पहिलो भए । उनले दौड पूरा गर्न २ मिनेट ०४.५३ सेकेन्ड समय लगाए ।
त्रिपुरेशवरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताअन्तर्गत युथको ४ गुणा १०० मिटर रिलेमा मध्यमाञ्चल पहिलो, पश्चिमाञ्चल दोश्रो र पूर्वाञ्चल तेश्रो भए । सो स्पर्धाको महिलामा पश्चिमाञ्चल प्रथम, मध्यपश्चिमाञ्चल द्वितीय तथा पूर्वाञ्चल तृतीय भए ।
जुनियरतर्फ पुरुष ज्याभ्लिन थ्रोमा मध्यमाञ्चलका वीरेन्द्र चौधरीले स्वर्ण जिते । उनले ४७.५४ मिटर थ्रो गरे । उक्त स्पर्धाको महिलामा २८.४७ मिटर थ्रो गर्दै सुदूरपश्चिमाञ्चलकी खगेश्वरी ठगुन्ना पहिलो भइन् ।
पुरुष लङजम्पमा ६.२७ मिटरसाथ मध्यमाञ्चलका भूवन महतो पहिलो बने । त्यसै स्पर्धाको महिलामा ४.७७ मिटरसाथ मध्यपश्चिमाञ्चलकी प्रमिला थारु शीर्ष स्थानमा रहिन् । पुरुष ८ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलका आशिष चौधरी पहिलो भए । निर्धारित दूरी तय गर्न उनले २ मिनेट ३८.४७ सेकेन्ड समय खर्चे । पुरुष २ सय मिटर दौड २३.७० सेकेन्ड समय लगाउदै मध्यमाञ्चलका खिलबहादुर कार्की पहिलो भए । पुरुष ४ सय मिटर दौडमा मध्यमाञ्चलका चन्देश्वर पटेल पहिलो भए । उनले ५२.५० सेकेन्ड समय निकाले । महिला २ सय मिटर दौड २८.१० सेकेन्डमा पूरा गर्दै मध्यपश्चिमाञ्चलकी प्रमिला थारुले पहिलो स्थानमा दौड टुंगाइन् ।
विजेतालाई एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाह, एथलेटिक्स प्रमुख प्रशिक्षक अमिरीप्रसाद यादवलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगितामा ५ विकास क्षेत्रबाट ७५ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
फेसबुक प्रतिक्रिया