मन्त्री तामाङद्धारा खेलकुद अभिमुखिकरण कार्यक्रम उद्घाटन
काठमाडौं, माघ ९– युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुद अभिमुखिकरण अन्तरक्रिया कार्यक्रमको शुक्रवार उद्घाटन गर्नुभएको छ ।
मन्त्री तामाङले बार्दियाको ठाकुरद्वारमा आयोजित दुईदिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नु भएको हो । सो अवसरमा मन्त्री तामाङले यस किसिमका अभिमुखी कार्यक्रमले खेल क्षेत्रलाई चलायनमान बनाउने धारणा व्यक्त गर्नु भएको छ । कोरोना भाइरसका कारण खेलक्षेत्र प्रभावित भइरहेको अवस्थामा अन्तरक्रिया कार्यक्रमले खेलाडी, प्रशिक्षक र खेलकर्मी सबैमा उत्साह जागेको मन्त्री तामाङको भनाई थियो ।
उहाँले महामारीको अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल अपनाएर खेलकुदलाई अगाडि बढाउनुपर्ने आवश्यकतासमेत औंल्याउनु भयो । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले खेलक्षेत्रलाई पूरानै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गर्दै अभिमुखीकरण कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरिने जानकारी दिनु भएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले खेलकुद विकास ऐन २०७७ को बारेमा प्रकाश पार्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा राखेप सदस्यसचिव सिलवाले खेल व्यवस्थापनका बारेमा परीक्षार्थीहरूलाई प्रशिक्षण गराउनु भएको थियो । त्यस्तै डा.मिलन केसीले स्पोर्ट्स मेडिसिन र डोपिङका बारेमा प्रशिक्षण दिनु हुनेछ भने रमण नेपालीले मोटिभेसन, राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले प्रशासनिक सहजीकरण र संयोजन सम्बन्धि जानकारी दिनु भएको थियो ।
त्यसैगरी तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुनबहादुर विकले आफ्नो विभागका व्यवस्थापन बारे प्रशिक्षण दिनुभएका थियो । ह्यान्डबल प्रशिक्षक हिमाल दाहालले प्रशिक्षक प्रशिक्षण सम्बन्धि, रिता प्रजापतिले खेल समाजशास्त्र र लैंगिक हिंसा र सुलोचना सुजाखाले खेल मनोविज्ञानबारे प्रशिक्षण दिएका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका प्रशिक्षक तथा कार्यलय प्रमुख, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी तथा ओलम्पियनहरू गरी कुल १ सय २५ जनाले प्रशिक्षण लिएका थिए । कार्यक्रम शनिबारसम्म सञ्चालन हुनेछ । यस अघि सुदूरपश्चिम प्रदेशमा माघ ७ र ८ गते सम्पन्न भएको खेल अभिमुखीकरण कार्यक्रमको राखेप सदस्यसचिव सिलवालले उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रशिक्षक, कार्यलय प्रमुख, ओलम्पियन र अन्तर्राष्ट्रिय पदकविजेता गरी १ सय ५ जनाको सहभागिता थियो ।
फेसबुक प्रतिक्रिया