राखेपको बाईसौं सदस्य सचिवमा सिलवाल

राष्ट्रिय खेलकुद परिषदको २२ औं सदस्य सचिवको रुपमा रमेश कुमार सिलवालले सपथ ग्रहण गरेका छन् ।
बुधबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित सपथ ग्रहण समारोहमा युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष जगत बहादुर सुनार (बिश्वकर्मा) ले पद तथा गोपनियताको सपथ गराए । सोही कार्यक्रममा परिषद्का नवनियुक्त उपाध्यक्ष शिव कोईराला (ज्वाला) ले पनि राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्रीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरे
श्रावण १२ गते सोमबार बसेको मन्त्री परिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा शिव कोईराला र सदस्य सचिवमा रमेश कुमार सिलवाललाई ४ बर्षका लागि नियुक्त गरेको हो । खेलकुद विकास ऐन २०४८ लाई प्रतिस्थापन गर्दै लागु भएको खेलकुद विकास ऐन २०७७ पश्चात राखेपको सदस्य सचिवमा नियुक्त हुने सिलवाल पहिलो सदस्य सचिव हुन् ।
नयाँ ऐन २०७७ लागु भए पश्चात राखेप नेतृत्वविहिन भएको थियो । खेलकुद विकास ऐन २०४८ अनुसार राखेपको सदस्य सचिवमा परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्रीले रमेश कुमार सिलवाललाई ४ बर्षका लागि मनोनित गरेका थिए । तर नयाँ खेलकुद विकास ऐन, २०७७ को दफा ५८ खारेजी र बचाउको उपदफा २ मा खेलकुद विकास ऐन, २०४८ बमोजिम भए गरेका काम कार्यवाही यसै ऐन बमोजिम भए गरेको मानिन्छ भन्ने भएता पनि परिषद्को सदस्य सचिव र सदस्यहरुको बारेमा स्पष्ट नबोलेका कारण परिषद् नेतृत्वविहिन भएको थियो ।
नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको तीन सदस्यिय समितिले खुला प्रकृयाबाट नयाँ सदस्य सचिवको लागि एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्ने र उक्त सिफारिस गरिएको नाम मन्त्रालयले मन्त्री परिषदमा प्रस्ताव गर्ने र मन्त्री परिषद्ले तीन जना मध्येबाट एक जनालाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने प्रावधान रहेको छ । सोही अनुरुप मन्त्रालयले सचिव राम प्रसाद थपलियाको संयोजकत्वमा राखेपका पूर्व सदस्य ईन्दिरा निरौला र राखेप तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक रिम बहादुर रानाभाट सदस्य रहेको तीन सदस्यिय सदस्य सचिव छनोट समिति बनाएको थियो । समितिले नयाँ ऐन अनुसार योग्यता पुगेका ब्यक्तिहरुबाट निवेदन आव्हान गरेकोमा २७ जना आकांक्षीहरुले निवेदन दर्ता गरेका थिए । तीनै २७ जना मध्ये समितिले निवर्तमान सदस्य सचिव सिलवाल सहित भलिबलका उपाध्यक्ष लिल बहादुर थापा मगर र भलिबलकी पूर्व कप्तान एवं साग पदकधारी अन्जु श्रेष्ठको नाम सदस्य सचिवका लागि मन्त्रालयमा सिफरिस गरेको थियो । मन्त्रालयले समितिले सिफारिस गरेको तीन जनाको नाम राखेपको सदस्य सचिव नियुक्तीका लागि मन्त्री परिषदमा प्रस्ताव गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा पुनः दोहरिनेमा सिलवाल तेश्रो ब्यक्ति हुन् । यस अघि परिषदको सदस्य सचिवको रुपमा रुक्म समशेर राणा र जीवन राम श्रेष्ठले दुई/दुई पटक नेतृत्व सम्हालि सकेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309