राखेपको बाईसौं सदस्य सचिवमा सिलवाल
राष्ट्रिय खेलकुद परिषदको २२ औं सदस्य सचिवमा रमेश कुमार सिलवाल नियुक्त भएका छन् ।
बिहिबार बसेको मन्त्री परिषद्को बैठकले सिलवाललाई ४ बर्षका लागि राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गरेको हो । खेलकुद विकास ऐन २०४८ लाई प्रतिस्थापन गर्दै लागु भएको खेलकुद विकास ऐन २०७७ पश्चात राखेपको सदस्य सचिवमा नियुक्त हुने सिलवाल पहिलो सदस्य सचिव हुन् ।
नयाँ ऐन २०७७ लागु भए पश्चात राखेप नेतृत्वविहिन भएको थियो । खेलकुद विकास ऐन २०४८ अनुसार राखेपको सदस्य सचिवमा परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्रीले रमेश कुमार सिलवाललाई ४ बर्षका लागि मनोनित गरेका थिए । तर नयाँ ऐन लागु भए पश्चात पुरानो ऐनले भए गरेका काम यसै ऐनले गरे बमोजिम हुने छ भन्ने भएता पनि परिषद्को सदस्य सचिव र सदस्यहरुको बारेमा स्पष्ट नबोलेका कारण परिषद् नेतृत्वविहिन भएको थियो ।
नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको तीन सदस्यिय समितिले खुला प्रकृयाबाट नयाँ सदस्य सचिवको लागि एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्ने , उक्त सिफारिस गरिएको नाम मन्त्रालयले मन्त्री परिषद्मा प्रस्ताव गर्ने र मन्त्री परिषद्ले तीन जना मध्येबाट एक जनालाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने प्रावधान रहेको छ । सोही अनुरुप मन्त्रालयले सचिव राम प्रसाद थपलियाको संयोजकत्वमा राखेपका पूर्व सदस्य ईन्दिरा निरौला र राखेप तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक रिम बहादुर रानाभाट सदस्य रहेको तीन सदस्यिय सदस्य सचिव छनोट समिति बनाएको थियो । समितिले नयाँ ऐन अनुसार योग्यता पुगेका ब्यक्तिहरुबाट निवेदन आव्हान गरेकोमा २७ जना आकांक्षीहरुले निवेदन दर्ता गरेका थिए । तीनै २७ जना मध्ये समितिले निवर्तमान सदस्य सचिव सिलवाल सहित भलिबलका उपाध्यक्ष लिल बहादुर थापा मगर र भलिबलकी पूर्व कप्तान एवं साग पदकधारी अन्जु श्रेष्ठको नाम सदस्य सचिवका लागि मन्त्रालयमा सिफरिस गरेको थियो । मन्त्रालयले उक्त तीन जनाको नाम राखेप सदस्य सचिव नियुक्तीका लागि मन्त्री परिषद्मा प्रस्ताव गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा पुनः दोहरिनेमा सिलवाल तेश्रो ब्यक्ति हुन् । यस अघि परिषदको सदस्य सचिवको रुपमा रुक्म समशेर राणा र जीवन राम श्रेष्ठले दुई÷दुई पटक नेतृत्व सम्हालि सकेका छन् ।
यसै गरि मन्त्री परिषद्ले राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष एवं खेलकुद महासंघका सह संयोजक शिव कोईराला ‘ज्वाला’ लाई नियुक्त गरेको छ । उपाध्यक्ष र सदस्य सचिवको कार्यकाल ४ बर्षको रहने छ ।
फेसबुक प्रतिक्रिया