शिरिषद्वारा खुल्ला पौडी प्रतियोगिता उपाधी रक्षा
ओलम्पियन शिरिष गुरुङ्गले छैटौं खुल्ला पौडी प्रतियोगितामा जित हात पार्दै उपाधी रक्षा गरेका छन् । ३२ प्रतिस्पर्धीलाई पछाडी पार्दै नेपाली सेनाका गुरुङ्गले २.५ किमिको दरी २६ मिनेट ०७ ः १३ सेकेण्डमा पुरा गरेका थिए । उनी पाँचौं खुला पौडी प्रतियोगिताका विजेता समेत हुन् । उनले जित संगै नगद २५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
कास्की जिल्ला पौडी संघ र कास्की जिल्ला खेलकुद विकास समितिको संयुक्त रुपमा आयोजित तथा नेपाल पौडी संघको सहयोगमा भएको प्रतियोगिताको दोश्रो स्थानमा सशस्त्र प्रहरी बल एपिएफका देवेश मान्धर रहे । उनले उक्त दुरी २७ मिनेट ७ ः ३८ सेकेण्डमा पार गरेका थिए । सेनाकै रुद्र कटवाल २८ मिनेट ०७ ः ०६ सेकेण्डका साथ तेश्रो भए ।
दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमश नगद १५ र १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
वाराही मन्दिरस्थित वोटिङ्ग प्वाईन्टबाट सुरु भई लिटिल गार्डेनमा गएर समाप्त भएको प्रतियोगितामा स्थानियतर्फ धनमान गुरुङ्ग ३३ मिनट ५.८८ सेकेन्डका साथ प्रथम भए । दोश्रो स्थानमा राम कुमार मिथुन ३४ मिनट ६.८८ सेकेन्डका साथ दोश्रो र अर्जून नेपाली ३६ मिनट २३.४१ सेकेन्डका साथ तेश्रो भए ।
पोखराका स्थनियलाई पौडी प्रति आकर्षण गर्ने उद्धेश्यले स्थानियहरुको लागि छुट्टै पुरस्कार राशीको व्यवस्था गरिएको थियो । उनीहरुले नगद १० हजार, ६ हजार र ४ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरे ।
सहभागी ३२ प्रतियोगी मध्ये अमेरिकी नागरिक इयुटिएन डिस्टोर ग्रेसेस, वेलायती नागरिक स्टेभेन ह्वाइटलकको समेत सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी एक मात्र महिला खेलाडी कास्कीकी रुवी तामाङ्गलाई कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेलले प्रोत्साहन स्वरुप नगद ५ हजार प्रदान गरे ।
विजेताहरुलाई प्रमुख अतिथी मुक्तिनाथ वाहिनीपति प्रहरी नायव महानिरिक्षक नरेन्द्र कुमार सिंह, विशेष अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्त गुरुङ्ग, नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, नेपाल ओलोम्पिक कमिटिका सदस्य तेज गुरुङ्ग, जिल्ला खेलकुद विकास समितिकिा अध्यक्ष याम वहादुर गुरुङ्ग लगाएतले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए ।
यो प्रतियोगिता संगै पोखरामा २ वर्ष देखि स्थगित साढे २ किलोमिटरको खुल्ला पौडी प्रतियोगिताले यस पटक पुनः निरन्तरता पाएको छ ।
फेसबुक प्रतिक्रिया