सदस्य सचिवद्वारा पुरस्कार वितरण
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाल पौडी संघद्वारा आयोजना गरिएको २५ औं राष्ट्रिय खुल्ला पौडी प्रतियोगिताका विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरे । पौडी संघले गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राख्दै पौडी प्रतियोगिता आयोजना गरको हो । आश्विन ५ र ६ गते हुन भनिएको प्रतियोगिता प्राविधिक कारणले एक दिन पछाडी सुरु भएको थियो । प्रतियोगितामा दुई नयाँ राष्ट्रिय किर्तिमान कायम भएको थियो । प्रदेश नं. १ का बिकास कुमाल र त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले २५ औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् । कुमालले ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१.०५ सेकेन्डको र अनुभवले १०० मिटर बटरफ्लाईमा ५९ः०० सेकेन्डका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका हुन् । २५ मिटर पुलको छोटो दुरीको प्रतियोगितमा यस अघि दुवै विधामा सयद हम्जा शाहको नाममा राष्ट्रिय किर्तिमान रहेको थियो । शाहले ८ औं राष्ट्रिय खेलकुदमा ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१.५५ सेकेन्ड र १०० मिटर बटरफ्लाईमा १ मिनट ००ः२५ सेकेन्डको किर्तिमान आफ्नो नाममा लेखाएका थिए । कुमालले आजै विहान भएको हिट चरणमानै शाहको नाममा रहेको किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा ३१.२६ सेकेन्डको किर्तिमान बनाउन सफल भएका थिए ।
फेसबुक प्रतिक्रिया