सदस्य सचिव सिलवालद्वारा राहत सहयोग वितरण
काठमाडौं, चैत २८ गते ।
कोरोना भाइरस (कोभिड – १९) का कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा चलाउदै आएका मजदुर, गरिब र विपन्न परिवारलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाले शुक्रबार राहत सामाग्री वितरण गरेका छन् । सदस्य सचिव सिलवाल प्रमुख कार्यकारी अधिकृत रहेको शैक्षिक संस्था गोल्डेनगेट इन्टरनेसनल कलेज मार्फत उक्त राहत सामाग्री वितरण गरिएको हो ।
गोल्डेनगेटसहित हिसान र त्रिकुति कोलोनीको सहयोगमा काठमाडौं महानगरपालिका वडा नं. ९ का ५ सय ५० परिवारलाई राहत सामाग्री वितरण गरियो । त्यसमा ४ सय परिवारलाई खाद्य राहत सामाग्री गोल्डेनगेट मार्फत सदस्य सचिव सिलवालले उपलब्ध गराएका हुन् । सदस्य–सचिव सिलवाल हिसानका पनि अध्यक्ष हुन् ।
वडा नं. ९ कार्यालयको समन्वयमा बत्तीसपुतलीस्थित गोल्डेनगेटमै सदस्य–सचिव सिलवाल, वडा अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले लक्षित वर्गलाई राहत सामाग्री वितरण गरे । वितरण गरिएका राहत सामाग्रीमा चामल, चिउरा, नुन, तेल, दाल, मसेउरा र मन्जन रहेका छन् ।
सदस्य–सचिव सिलवालले वर्तमान अवस्थामा सक्नेहरुले कठिनाइमा परेकालाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरे । वडा अध्यक्ष श्रेष्ठले यो सहित चार चरणमा राहत वितरण गरिएको जानकारी दिदै हालसम्म १ हजार ७ सय १५ परिवारलाई राहत वितरण गरिसकेको बताए । उनले वडा आफैले ४ सय ८५ परिवारलाई राहत वितरण गरेको र बाँकी विभिन्न संघ, संस्था र शुभचिन्तकको सहयोगमा राहत वितरण गरेको जानकारी दिए ।
फेसबुक प्रतिक्रिया