सेपाकताक्रो टोली श्रीलंका प्रस्थान

काठमाडौं पुस २७ गते ।
दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली मंगलबार अबेर राती श्रीलंकाको कोलोम्बो प्रस्थान गरेको छ ।
पुरुष खेलाडीमा अनिल गुरुङ (कप्तान), एलन गुरुङ, रुपेश सुनार र रोशन तामाङ रहेका छन् । महिलामा सोममाया थापा मगर (कप्तान), सुमित्रा डंगोल, चन्द्रा चौधरी र स्वस्तिका श्रेष्ठ छन् । जनवरी १३ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले रेगु र डबल्स इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
टिम व्यवस्थापकमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष एवं दक्षिण एसियाली सेपाकताक्रो महासंघका सचिव नेत्रप्रसाद गुरुङ तथा प्रशिक्षकमा गंगाबहादुर गुरुङ छन् । अर्जुनबहादुर ठकुल्ला र रोशन भट्टराईले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
प्रतियोगिता दौरान हुने वार्षिक साधारणसभामा भाग लिन दक्षिण एसियाली सेपाकताक्रो महासंघका तीन नेपाली पदाधिकारी पनि टोलीसंगै कोलोम्बो प्रस्थान गरेका छन् ।
दक्षिण एसियाली सेपाकताक्रो महासंघका अध्यक्ष सीताराम मास्के, उपाध्यक्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र महासचिव ध्रुव गुरुङ कोलोम्बो गएका हुन् । राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहाल पनि टोलीसंगै कोलोम्बो प्रस्थान गरेका छन् ।
टोलीलाई नेपाल सेपाकताक्रो संघका सदस्य एवं झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीलगायतले मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
पहिलो संस्करण २०१३ मा नेपालले आयोजना गरेको थियो । पुरुष विधा मात्र समावेश उक्त संस्करणको डबल्स, रेगु र टिम इभेन्ट तीनैमा नेपालले रजत जितेको सेपाकताक्रो संघले जनाएको छ । त्यसबेला नेपालसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानले भाग लिएका थिए । यसपटक पनि यिनै पाँच राष्ट्र दोहोरिने बताइएको छ ।
सदस्य–सचिव विष्टको अनुपस्थितिमा राखेपका सदस्य गंगाबहादुर थापाले निमित्त सदस्य–सचिवको कार्यभार सम्हाल्नेछन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309