स्वर्ण र कीर्तिमानधारी खेलाडी पुरस्कृत

काठमाडौं,३१ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र राष्ट्रिय कीर्तिमान बनाएका खेलाडीलाई मंगलबार नगद पुरस्कार प्रदान गरेको छ ।

        सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जितेका जम्मा ६ सय ९६ खेलाडीलाई नगद पुरस्कार वितरण गरियो । व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई जनही १५ हजार तथा टिममा स्वर्ण हात पार्नेलाई जनही ७ हजार नगद पुरस्कार दिइएको थियो ।

        विभिन्न ४ खेलमा राष्ट्रिय कीर्तिमान बनाउन सफल १६ खेलाडीलाई २६ कीर्तिमानका लागि प्रत्येक कीर्तिमानको २५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । स्वर्ण र कीर्तिमानका लागि जम्मा ७७ लाख वितरण गरिएको थियो ।

        एथलेटिक्सकी चन्द्रकला लामगाडेले २, कृष्णा चौधरी, तुलसा खत्री, संगीता मेचे र सरस्वती भट्टराईले (रिले) तथा सन्तोषी श्रेष्ठले समान १–१ कीर्तिमान बनाएका थिए । पौडीमा गौरिका सिंहले ६, तेन्जिङ नोर्गे गुरुङले २, शुभम् श्रेष्ठले २, शायद हम्जा शाहले ३, एलेक्जेन्डर शाहले २, अनुभव सुब्बाले २ र नाथेन दोर्जे शेर्पाले २ कीर्तिमान रचेका थिए । त्यस्तै सुटिङकी सुस्मिता नेपाल तथा गोल्फका टंकबहादुर कार्की र शुक्रबहादुर राईले समान १–१ कीर्तिमान बनाएका थिए ।

        खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373